बाइबल · पवित्र बाइबल (Nepali)

श्रेष्‍ठगीत 3

1 प्रेमिका आफैसित बोल्दैः रातमा मेरो ओछ्यानमा मेरो प्राणले प्रेम गरेको प्रेमीलाई मैले खोज्दै थिएँ । मैले उहाँको खोजी गरेँ, तर उहाँलाई भेट्टाउन सकिनँ ।

2 मैले आफैलाई भनेँ, “म उठ्ने छु, र सहरबाट जाने छु, गल्ली र चोकहरूबाट जाने छु । मेरो प्राणले प्रेम गरेको प्रेमीलाई म खोज्ने छु ।” मैले उहाँको खोजी गरेँ, तर उहाँलाई भेट्टाउन सकिनँ ।

3 पहरेदारहरू सहरमा घुम्दै गर्दा तिनीहरूले मलाई भेट्टाए । मैले तिनीहरूलाई सोधेँ, “मेरो प्राणले प्रेम गर्ने मेरा प्रेमीलाई के तपाईंहरूले देख्‍नुभएको छ ?”

4 तिनीहरूबाट गएको केही समयपछि मात्रै मेरो प्राणले प्रेम गर्ने मेरा प्रेमीलाई मैले भेट्टाएँ । मैले उहाँलाई समातेँ, र मेरी आमाको घरमा, मलाई जन्म दिनुहुनेको कोठाभित्र नल्याएसम्म मैले उहाँलाई जान दिइनँ । प्रेमिका अन्य स्‍त्रीहरूसित बोल्दैः

5 हे यरूशलेमका छोरीहरू हो, मैदानका मुडुली मृग र हरिणहरूको नाउँमा म तिमीहरूसित वाचा बाँध्छु, कि आफूले नचाहेसम्म प्रेमलाई नबिउँझाओ वा नजगाओ । प्रेमिका आफैसित बोल्दैः

6 व्यापारीहरूद्वारा बेचिएका सबै मसलाबाट बनिएको मूर्र र धूपले सुगन्धित भएर धूवाँको मुस्लोझैँ उजाड-स्थानबाट माथि आउँदै गरेको के हो ?

7 हेर, यो त सोलोमनको पलङ्ग पो रहेछ । इस्राएलका साठी जना योद्धाले यसको वरिपरि सुरक्षा दिँदै छन् ।

8 तिनीहरू सबै तरवार चलाउन सिपालु छन्, र युद्धमा अनुभवी छन् । रातको त्रासको विरुद्धमा लड्न हरेकले तरवार भिरेको छ ।

9 राजा सोलोमनले आफ्नै निम्ति लेबनानको काठबाट पालकी बनाउनुभयो ।

10 यसका डन्डाहरू चाँदीका थिए । यसको पछाडिको भाग सुनबाट बनेको थियो, र आसनचाहिँ बैजनी वस्‍त्रले ढाकिएको थियो । यसको भित्री भागचाहिँ यरूशलेमका छोरीहरूको प्रेमले सजिएको थियो । प्रेमिका यरूशलेमका स्‍त्रीहरूसित बोल्दैः

11 हे सियोनका छोरीहरू हो, बाहिर गएर राजा सोलोमनलाई एकटक लगाएर हेर, जसले मुकुट लगाउनुभएको छ, जुन उहाँकी आमाले विवाहको दिनमा, उहाँको हृदय आनन्दले भरिएको दिनमा उहाँलाई पहिराइदिएकी थिइन् ।

पवित्र बाइबल (Nepali) — © 2019 Door43 World Missions Community — CC BY-SA 4.0