बाइबल · पवित्र बाइबल (Nepali)

भजनसंग्रह 29

1 ए परमेश्‍वरका छोराहरू हो, परमप्रभुलाई श्रेय देओ, महिमा र बलको श्रेय परमप्रभुलाई देओ ।

2 परमप्रभुलाई उहाँको नाउँ सुहाउँदो महिमाको श्रेय देओ । पवित्रतामा सुहाउँदो भएर परमप्रभुलाई दण्डत गर ।

3 परमप्रभुको सोर पानीहरूमाथि सुनिन्छ । महिमाको परमेश्‍वर गर्जनुहुन्छ । परमप्रभु धेरै पानीहरूमाथि गर्जनुहुन्छ ।

4 परमप्रभुको सोर शक्तिशाली छ । परमप्रभुको सोर महिमित छ ।

5 परमप्रभुको सोरले देवदारुहरूलाई भाँचिदिन्‍छ । परमप्रभुले लेबनानका देवदारुहरूलाई टुक्रा-टुक्रा पार्नुहुन्छ ।

6 उहाँले लेबनानलाई बाछोझैं र सिरिओनलाई जवान गोरुझैं उफ्रन लगाउनुहुन्छ ।

7 परमप्रभुको सोरले आगोको ज्वालाहरू पठाउँछ ।

8 परमप्रभुको सोरले उजाड-स्‍थानलाई हल्लाउँछ । परमप्रभुले कादेशको उजाड-स्‍थानलाई थर्कमान पार्नुहुन्छ ।

9 परमप्रभुको सोरले फलाँटका रूखहरूलाई बङ्ग्याउँछ, र वनहरूलाई उखेलेर उजाड पार्छ । उहाँको मन्दिरमा हुने हरेकले भन्छ, “महिमा !”

10 परमप्रभु बाढीमाथि राजाको रूपमा विराजमान हुनुहुन्छ । परमप्रभु सदासर्वदा राजाको रूपमा विराजमान हुनुहुन्छ ।

11 परमप्रभुले आफ्ना मानिसहरूलाई बल दिनुहुन्छ । परमप्रभुले आफ्ना मानिसहरूलाई मिलापले आशिष्‌ ‌‌दिनुहुन्छ ।

पवित्र बाइबल (Nepali) — © 2019 Door43 World Missions Community — CC BY-SA 4.0