बाइबल · पवित्र बाइबल (Nepali)

जकरिया 5

1 अनि म फर्कें र मेरो नजर उठाएर हेर्दा मेरोअगि एउटा चर्मपत्रको मुट्ठो उडिरहेको देखें ।

2 स्वर्गदूतले मलाई भने, “तिमी के देख्दैछौ?” मैले जवाफ दिएँ, “मैले नौ मिटर लामो र साढे चार मिटर चौडा चर्मपत्रको मुट्ठो उडिरहेको देख्दै छु ।”

3 अनि तिनले मलाई भने, “यो त्यो सराप हो जुन सारा भूमिमा जानेछ । किनकि यसको एकापट्टि जे भनिएको छ त्यसको आधारमा हरेक चोर बहिष्कृत हुनेछ, र अर्कापट्टि जे भनिएको छ त्यसको आधारमा झुटो शपथ खाने हरेक बहिष्कृत हुनेछ ।”

4 “म यो पठाउनेछु, अनि त्यो चोरको घरमा र मेरो नाउँको झुटो शपथ खानेको घरमा जानेछ, परमप्रभु घोषणा गर्नुहुन्छ । त्यो त्यस घरभित्रै रहनेछ र त्यसका काठहरू र ढुङ्गाहरूलाई ध्वस्त पार्नेछ ।”

5 त्यसपछि मसँग बोलिरहेका स्वर्गदूत बाहिर निस्के अनि मलाई भने, “आफ्नो नजर उठाउ र आउन लागेको कुरा हेर!”

6 मैले भनें, “त्यो के हो?” तिनले भने, “यो एउटा नाप्ने डालो हो । सारा भूमिमा तिनीहरूका पाप यही हो ।”

7 अनि त्यस डालोको ढक्‍कन उठाइयो र त्यस डालोभित्र एउटी स्‍त्री थिई ।

8 स्वर्गदूतले भने, “योचाहिँ दुष्‍टता हो!” तिनले त्यस स्‍त्रीलाई त्यस डालोभित्र फ्याँकिदिए, र त्यसको ढक्‍कन लगाइदिए ।

9 मैले आफ्नो नजर उठाएँ अनि दुई जना स्‍त्री मतिर आइरहेको देखें, र बतास तिनीहरूका पखेटामा थियो, किनकि तिनीहरूका पखेटा सारसका पखेटाझैँ थिए । तिनीहरूले त्यो डालोलाई पृथ्वी र आकाशको बिचमा पुर्‍याए ।

10 यसैले मसँग बोलिरहेका स्वर्गदूतलाई मैले भनें, “तिनीहरूले त्यो डालो कहाँलैजाँदै छन्?”

11 तिनले मलाई भने, “त्यसको निम्ति बेबिलोनिया देशमा मन्दिर बनाउनको निम्ति ।मन्दिर तयार भएपछि, डालो राख्‍नको निम्ति बनाइएको स्थानमा त्यो राखिनेछ ।”

पवित्र बाइबल (Nepali) — © 2019 Door43 World Missions Community — CC BY-SA 4.0