बाइबल · पवित्र बाइबल (Nepali)

भजनसंग्रह 52

1 हे वीर मानिस, दुःख दिनमा तिमी किन घमण्ड गर्छौ? परमेश्‍वरको करारको विश्‍वस्‍तता हरेक दिन आउँछ ।

2 छलपूर्ण रूपले काम गरेर तिम्रो जिब्रोले धारिलो छुराले जस्तै विनाशको योजना बनाउँछ ।

3 तिमीले असलभन्दा खराब र धार्मिकताभन्दा झुट बोल्न रुचाउँछौ । सेला

4 तँ चली जिब्रो, तँ अरूलाई निल्ने सबै कुराहरू रुचाउँछस् ।

5 परमेश्‍वरले तँलाई त्यसरी नै सदासर्वदाको निम्‍ति नाश पार्नुहुनेछ । उहाँले तँलाई माथि उठाउनुहुनेछ, तेरो पालबाट तँलाई निकाल्नुहुनेछ र जीवितहरूको देशबाट तँलाई उखेल्नुहुनेछ । सेला

6 धर्मीहरूले यो देख्‍नेछन् र भय मान्‍नेछन् । तिनीहरूले त्यसलाई हाँसो उडाउनेछन् र यसो भन्‍नेछन्,

7 “हेर, यो मानिसले परमेश्‍वरलाई आफ्नो शरणस्थान बनाएन, तर त्यसले आफ्नो समपत्तिको प्रशस्‍ततामा भरोसा गर्‍यो । र त्यसले अरूको विनाश गर्दा त्यो बलियो थियो ।”

8 तर मेरो बारेमा, परमेश्‍वरको मन्‍दिरमा म हरियो जैतूनको रूखजस्तो छु । म परमेश्‍वरको करारको विश्‍वस्‍ततामा सदासर्वदा भरोसा गर्नेछु ।

9 तपाईंले जे गर्नुभएको छ त्‍यसको निम्ति म तपाईंलाई सदासर्वदा धन्यवाद चढाउनेछु । तपाईंका भक्‍तजनहरूका उपस्थितिमा म तपाईंको नाउँको आसा गर्नेछु, किनकि यो असल हो ।

पवित्र बाइबल (Nepali) — © 2019 Door43 World Missions Community — CC BY-SA 4.0