बाइबल · पवित्र बाइबल (Nepali)

नहूम 2

1 तँलाई टुक्रा-टुक्रा पार्नुहुने तेरो विरुद्धमा आउँदै हुनुहुन्छ । सहरहरूका पर्खालहरूमा मानिसहरू खटाओ, बाटोहरूलाई पहरा देओ, आफैँलाई बलिया बनाओ, आफ्ना सेनाहरूलाई एकठ्ठा गर ।

2 लुटेराहरूले तिनीहरूलाई तहस-नहस गरे तापनि, र तिनीहरूका दाखका हाँगाहरूलाई नष्‍ट गरे तापनि, परमप्रभुले इस्राएलको गौरवझैँ याकूबको गौरव पुनर्स्थापित गर्दै हुनुहुन्छ ।

3 त्यसका शक्तिशाली मानिसहरूका रक्षा कवचहरू राता छन्, र त्यसका सैनिकहरू वैजनी रङ्गका पोशाकमा छन् । तिनीहरूका रथहरू तयार भएका दिनमा तिनीहरूका धातुद्धारा चम्किन्छन्, र सल्लोका भालाहरू हावामा लहराइन्‍छन् ।

4 ती रथहरू सडकहरूबाट तीव्र गतिमा अगि बढ्छन्, फराकिला सडकहरूमा ती अगाडि र पछाडि दौडन्‍छन् । तिनीहरू राँकाझैँ देखिन्छन्, र तिनीहरू बिजुलीझैँ दौडन्‍छन् ।

5 तँलाई टुक्रा-टुक्रा पार्नेले आफ्ना अधिकारीहरूलाई बोलाउँछ, तर तिनीहरू हिँड्ने क्रममा एक आपसमा ठेस खाई लड्छन् । तिनीहरू सहरको पर्खाललाई आक्रमण गर्न हतारिन्छन् । यी आक्रमण गर्नेहरूलाई बचाउनको निम्ति ठुलो रक्षा कवच बनाइन्छ ।

6 नदीका बाँधहरू खुला पारिन्छन्, र दरबारचाहिँ नाश हुनेछ ।

7 हुज्‍जाबका वस्‍त्र फुकालिएकाछन् र त्यो निर्वासनमा लगिनेछे । त्यसका कमारीहरू छाती पिट्दै ढुकुरहरूझैँ विलाप गर्छन् ।

8 निनवे चुहिरहेको पोखरीझैँ हो, जसका मानिसहरू जोडले बगिरहेको पानीझैँ भागिरहेका छन् । अरूहरूले ठुलो सोरमा भन्छन्, “रोक, रोक,” तर कसैले पनि पछि फर्केर हेर्दैन ।

9 चाँदी र सुनका लुटका सामान लेओ, किनभने निनवेका सबै सुन्दर कुराहरूका वैभवको कुनै अन्त्य छैन ।

10 निनवे रित्तो र नष्‍ट भएको छ । सबैका हृदय पग्लिन्‍छन्, सबैका घुँडाहरू एक आपसमा ठोकिन्छन्, र पीडा सबैमा छ, तिनीहरू सबैका अनुहारहरू पहेँला छन् ।

11 सिंहको गुफा, जहाँ जवान सिंहहरूलाई खुवाइन्थ्यो, जहाँ सिंह र सिंहनी आफ्ना डमरुहरूसँग हिँड्थे, जहाँ तिनीहरू कोहीसँग डराउँदैनथे, त्यो ठाउँ कहाँ छ?

12 सिंहले आफ्ना डमरुहरूका निम्ति त्यसका शिकारहरूलाई टुक्रा-टुक्रा गर्‍यो । त्यसले आफ्ना सिंहनीहरूका निम्ति शिकारको घाँटी निमोठी मार्‍यो, र आफ्नो गुफालाई शिकारहरूले , र आफ्नो ओडारलाई टुक्रा-टुक्रा पारिएका सिनुहरूले भर्‍यो ।

13 सेनाहरूका परमप्रभु यो घोषणा गर्नुहुन्छ, “हेर्, म तेरो विरुद्धमा छु । म तेरा रथहरूलाई जलाएर धुँवा बनाउनेछु र तेरा जवान सिंहहरूलाई तरवारले नष्‍ट पार्नेछ । तेरो भुमिबाट तेरो शिकारलाई म हटाइदिनेछु र तेरा समाचारबाहकहरूका आवाज अब कहिल्यै सुनिनेछैन ।”

पवित्र बाइबल (Nepali) — © 2019 Door43 World Missions Community — CC BY-SA 4.0