बाइबल · पवित्र बाइबल (Nepali)
उत्पत्ति 4
1 मानिसलेआफ्नी पत्नीसित सहवास गरे । अनि तिनी गर्भवती भइन् र कयिनलाई जन्माइन् । तिनले भनिन्, “मैले परमप्रभुको सहायताले एक पुरुष जन्माएँ ।”
2 अनि तिनले तिनको भाइ हाबिललाई जन्माइन् । हाबिल गोठालो भए, तर कयिन खेती गर्ने भए ।
3 समय बित्दै जाँदा कयिनले तिनको जमिनको उब्जनीबाट केही परमप्रभुकहाँ भेटीको रूपमा ल्याए ।
4 हाबिलको हकमा तिनले बगालका पहिले जन्मेकाहरू र केही बोसे भागहरू ल्याए । परमप्रभुले हाबिल र तिनका भेटीलाई ग्रहण गर्नुभयो,
5 तर कयिन र तिनका भेटीहरूलाई उहाँले ग्रहण गर्नुभएन । यसैले कयिन साह्रै रिसाए र तिनले रिस देखाए ।
6 परमप्रभुले कयिनलाई भन्नुभयो, “तँ किन रिसाउँछस् र तैँले किन रिस देखाउँछस् ?
7 यदि तैँले जे ठीक छ सो गरिस् भने, के तँलाई ग्रहण गरिनेछैन र? तर यदि तैले जे ठीक छ सो गर्दैनस भने त पाप तेरो ढोकैमा ढुक्छ र तँलाई अधिन गर्न इच्छा गर्छ, तर तैँले अधिन गर्नैपर्छ ।”
8 कयिनले आफ्ना भाइ हाबिललाई भने । अनि तिनीहरू खेतमा हुँदा कयिननले आफ्ना भाइ हाबिलमाथि आक्रमण गरे र तिनलाई मारे ।
9 अनि परमप्रभुले कयिनलाई भन्नुभयो, “तेरो भाइ हाबिल कहाँ छ?” तिनले भने, “मलाई थाहा छैन । के म मेरो भाइको गोठालो हुँ र?”
10 परमप्रभुले भन्नुभयो, “तैँले यो के गरिस्? तेरो भाइको रगतले जमिनबाट मलाई पुकारिरहेको छ ।
11 अब तँ जमिबाट श्रापित हुन्छस् जसले तेरो हातबाट बगेको तेरो भाइको रगत ग्रहण गर्न मुख उघारेको छ ।
12 आज उप्रान्त तैँले खेती गर्दा यसले यसको सामर्थ्य (फल) दिनेछैन । तँ भगुवा र आवारा हुनेछस् ।”
13 कयिनले परमप्रभुलाई भने, “मेरो दण्ड मैले सहन सक्नेभन्दा धेरै भयो ।
14 वास्तवमा, आज तपाईंले मलाई यस जग्गाबाट धपाउनुभएको छ र म तपाईंको नजरबाट लुक्नेछु । म पृथ्वीमा भगुवा र आवारा हुनेछु र जसले भेट्टाउँछ त्यसले मलाई मार्नेछ ।”
15 परमप्रभुले तिनलाई भन्नुभयो, “यदि कसैले कयिनलाई मार्छ भने, त्यसमाथि सात गुणा बदला लिइनेछ ।” अनि परमप्रभुले कयिनमाथि चिन्ह लगाउनुभयो, ताकि तिनलाई जसले भेट्टाए पनि आक्रमण नगरोस् ।
16 यसैले कयिन परमप्रभुको उपस्थितिबाट गए र अदनको पूर्वतिर नोदको मुलुकमा बसोवास गरे ।
17 कयिनले आफ्नी पत्नीसँग सहवास गरे, र तिनी गर्भवती भइन् । तिनले हनोकलाई जन्माइन् । तिनले एउटा सहर बनाए, र यसको नाउँ आफ्नो छोराकै नाउँमा राखे ।
18 हनोकबाट ईराद जन्मिए । ईराद महूयाएलका पिता बने । महूयाएल मतुशाएलका पिता बने । मतुशाएल लेमेखका पिता बने ।
19 लेमेखले दुइ जना पत्नीहरू ल्याए । एउटीको नाउँ आदा र अर्कीको नाउँ सिल्ला थियो ।
20 आदाले याबाललाई जन्माइन् । तिनी पालमा बस्नेहरू र पशु पालन गर्नेहरूका पिता बने ।
21 तिनको भाइको नाउँ यूबाल थियो । तिनी वीणा र बाँसुरी बजाउनेहरूका पिता बने ।
22 सिल्लाको हकमा, तिनले तुबल-कयिन अर्थात् काँसो र फलामका काम गर्नेहरूलाई जन्माइन् । तुबल-कयिनकी बहिनी नामा थिइन् । लेमेखले तिनकी पत्नीहरूलाई भने, “
23 लेमेखका पत्नीहरू आदा र सिल्ला मेरो कुरा सुन; मैले जे भन्छु सो सुन । मलाई चोट पुर्याउने मनिसलाई अर्थात् मलाई घायल बनाउने जवानलाई मैले मारेको छु ।
24 यदि कयिनको बदला सात गुणा लिइन्छ भने लेमेखको बदला सतहत्तर गुणा लिइनेछ ।”
25 आदमले तिनको पत्नीसँग फेरि सहवास गरे र तिनले अर्को छोरा जन्माइन् । तिनले त्यसको नाउँ शेत राखिन् र भनिन्, “कयिनले मारेका हाबिलको सट्टामा परमेश्वरले मलाई अर्को छोरा दिनुभएको छ ।”
26 शेतको एउटा छोरा भयो तिनले तिनको नाउँ एनोश राखे । त्यस बेलादेखि मानसिहरूले परमेश्वरको नाउँ पुकार्न सुरु गरे ।
पवित्र बाइबल (Nepali) — © 2019 Door43 World Missions Community — CC BY-SA 4.0