बाइबल · पवित्र बाइबल (Nepali)
२ शमूएल 9
1 दाऊदले भने, “के शाऊलको परिवारका कोही बाँकी छन्, जसलाई जोनाथनको खातिर म दया देखाउन सक्छु?”
2 शाऊलको परिवारमा त्यहाँ सीबा नाम गरेका एक जना सेवक थिए, र उनीहरूले तिनलाई दाऊदकहाँ बोलाए । राजाले तिनलाई सोधे, “के तिमी सीबा हौ?” तिनले जवाफ दिए, “हो हजूर, म तपाईंको सेवक ।”
3 त्यसैले राजाले भने, “के शाऊलको परिवारमा कुनै व्यक्ति बाँकी छैन जसलाई मैले परमेश्वरको दया देखाउन सक्छु?” सीबाले राजालाई जवाफ दिए, “जोनाथनको अझै एउटा छोरा छन्, जो आफ्नो खुट्टाको लङ्गडा छन् ।”
4 राजाले तिनलाई भने, “तिनी कहाँ छन्?” सीबाले राजालाई जवाफ दिए, “हे्र्नुहोस्, तिनी लो-देबारमा अम्मीएलका छोरा माकीरको घरमा छन् ।”
5 त्यसपछि राजा दाऊदले मानिसहरू पठाए र तिनलाई लो-देबारमा अम्मीएलका छोरा माकीरको घरबाट ल्याउन लगाए ।
6 त्यसैले शाऊलका नाति, जोनाथनका छोरा मपीबोशेत दाऊदकहाँ आए र दाऊदलाई आदर गर्न आफ्नो अनुहार भुईंमा घोप्टो पारे । दाऊदले भने, “ए मपपीबोशेत ।” तिनले जवाफ दिए, “हेर्नुहोस्, म तपाईंको सेवक हुँ ।”
7 दाऊदले तिनलाई भने, “नडराऊ, किनकि तिम्रो बुबा जोनाथनको खातिर म तिमीलाई निश्चय नै दया देखाउने छु र तिम्रो हजुरबुबा शाऊलका सबै जमिन म तिमीलाई फिर्ता दिने छु र तिमी सधैं मेरो टेबलमा खाने छौ ।”
8 मपीबोशेतले शिर झुकाएर भने, “तपाईंको दास के हो र, हजूरले मजस्तो मरेको कुकुरजस्तोलाई निगाह गर्नुहुन्छ?”
9 त्यसपछि राजाले शाऊलका सेवक सीबालाई बोलाएर तिनलाई भने, “शाऊल र तिनका परिवारका सबै थोक मैले तिम्रो मालिकको नातिलाई दिएको छु ।
10 तिमी, तिम्रा छोराहरू र तिम्रा सेवकहरूले तिनको निम्ति जमिनमा खेतीपाती गर्नुपर्छ र तिमीले अन्नहरू कटानी गर्नुपर्छ ताकि तिम्रो मालिकको नातिलाई खानलाई भोजन हुने छ । किनकि तिम्रो मालिकको नाति मपीबोशेतले सदैब मेरो टेबलमा खानुपर्छ ।” यति बेला सीबाका पन्ध्र जना छोरा र बिस जना सेवकहरू थिए ।
11 सीबाले राजालाई भने, “मेरा मालिक, हजूरले आफ्नो सेवकलाई आज्ञा गर्नुभएको सबै कुरा हजूरको सेवकले गर्ने छ ।” राजाले थपे, “मपीबोशेतको बारेमा, राजाका छोरामध्ये एक जनाझैं तिनले मेरो टेबलबाट खाने छन् ।”
12 मपीबोशेतको एक जना जवान छोरा थिए, जसको नाउँ मीका थियो । सीबाका घरमा बस्ने सबै मपीबोशेतका सेवकहरू थिए ।
13 त्यसैले मपीबोशेत यरूशलेममा बसे र तिनले सधैं राजाको टेबलमा खाए, यद्यपि तिनको दुवै खुट्टा लङ्गडा थिए ।
पवित्र बाइबल (Nepali) — © 2019 Door43 World Missions Community — CC BY-SA 4.0