बाइबल · पवित्र बाइबल (Nepali)

१ शमूएल 21

1 पुजारी अहीमेलेकलाई भेट्न दाऊद नोबमा गए । अहीमेलेक डरले काम्दै दाऊदलाई भेट्न आए र तिनलाई भने, “तपाईं किन एक्‍लै हुनुहुन्‍छ र तपाईंसँग कोही पनि छैनन्?”

2 दाऊदले पुजारी अहीमेलेकलाई भने, “राजाले मलाई एउटा काममा पठाउनुभएको छ र यस्‍तो हुकुम गर्नुभएको छ, 'जुन कामको बारेमा मैले तिमीलाई पठाएको छु र मैले तिमीलाई जे आज्ञा गरेको छु त्‍यसको बारेमा कसैलाई थाहा नहोस् ।' कुनै निश्‍चित ठाउँमा आउन मैले जवान मानिसहरूलाई निर्देशन दिएको छु ।

3 अहिले तपाईंसँग के छ? पाँच वटा रोटी वा यहाँ जे छ सो मलाई दिनुहोस् ।”

4 पुजारीले दाऊदलाई जवाफ दिए र भने, “मसँग कुनै साधारण रोटी त छैन, तर ती जवान मानिहरू स्‍त्रीहरूबाट अलग बसेका छन् भने यहाँ पवित्र रोटी छ ।

5 दाऊदले पुजारीलाई जवाफ दिए, “सदाझैं बाहिर म जाँदा हामीबाट तिन दिनदेखि स्‍त्रीहरू अलग गरिएको छन् । साधारण काममा जाँदा समेत मानिससित सम्‍बन्‍धित कुरालाई तिनीहरूले शुद्ध राखेका छन् । तिनीहरूसँग भएका कुरालाई आज तिनीहरूले अझ धेरै शुद्ध राखेका छन् ।”

6 त्यसैले पुजारीले तिनलाई चढाइएको रोटी दिए । किनकि त्यहाँ उपस्थितिको रोटीबाहेक अरू कुनै रोटी थिएन, जुन रोटी परमप्रभुको सामुबाट हटाएर त्‍यसको सट्टामा तातो रोटी राखिएको थियो ।

7 त्यस दिन शाऊलका सेवकहरूमध्‍ये एक जना परमप्रभुको सामु रोकिएको थियो । त्यसको नाउँ एदोमी दोएग थियो, जो शाऊलका गोठालाको प्रमुख थियो ।

8 दाऊदले अहीमेलेकलाई भने, “के यहाँ कुनै भाला वा तरवार छैन? किनकि मैले न त मेरो तरवार न हतियार नै ल्याएँ, किनभने राजाको काम जरूरी थियो ।”

9 पुजारीले भने, “तपाईंले एलाहको बेसीमा मार्नुभएको पलिश्‍ती गोल्यतको तरवार एपोद पछाडी कपडाले बेह्रेर राखिएको छ । तपाईंलाई त्‍यो लाने इच्‍छा हुन्छ भने त्‍यो लानुहोस्, किनकि यहाँ अरू कुनै हतियार छैन ।” दाऊदले भने, “त्यो जस्‍तो अरू कुनै तरवार छैन । त्‍यो मलाई दिनुहोस् ।”

10 त्यस दिन दाऊद उठे र शाऊलदेखि भागे र गातका राजा आकीशकहाँ गए ।

11 आकीशका सेवकहरूले तिनलाई भने, “के यिनी देशका राजा दाऊद होइनन्? के तिनीहरूले नाचहरूमा एक-आपसमा यसो भनी गाएनन्, 'शाऊलले हजारौलाई मारेका छन्, र दाऊदले दसौं हजारलाई मारेका छन् ?'”

12 दाऊदले यस कुरालाई मन लिए र गातका राजा आकीशसँग धेरै डराए ।

13 उनीहरूको सामु तिनले आफ्‍नो व्‍यवहार बदले र तिनीहरूकहाँ पागल भएको बाहाना गरे । तिनले प्रवेशद्वारको ढोकाहरूमा लेखे र आफ्‍नो र्‍याल दाह्रीभरि चुहाए ।

14 तब आकीशले आफ्ना सेवकहरूलाई भने, “हेर, यो मानिस पागल भएको तिमीहरू देख्‍दैछौ । यसलाई तिमीहरूले मकहाँ किन ल्याएको हौ?

15 के मसँग पागल मानिसको कमी छ, ताकि तिमीहरूले यसलाई मेरो उपस्थितिमा त्‍यस्‍तै व्यवहार गर्नलाई ल्याएको हौ? के यो मानिस साँच्‍चै नै मेरो घरमा आउनेछ?”

पवित्र बाइबल (Nepali) — © 2019 Door43 World Missions Community — CC BY-SA 4.0